मोहन्याल गाउँपालिकाको वडा नं. ३ र ६ को सिमानामा पर्ने भत्कुरी खोला र  सुगरखाल खोलाको दोभानमा पुल नहुँदा त्यहाँका स्थानीयहरूले वर्षौंदेखि समस्या भोगिरहेका छन्। वर्षायाममा खोला बढेपछि आवतजावत ठप्प हुने र विद्यार्थीदेखि बिरामीलाई अस्पताल पुर्याउन समेत ठूलो कठिनाइ हुने गरेको स्थानीयले बताएका छन्।

स्थानीयरूको भनाइ अनुसार, सो क्षेत्रमा स्थायी पुल बनेको भए दैनिक जीवन सहज हुने थियो। उनीहरूले बालबालिकाको पढाइ, बजार जाने आवागमन तथा कृषि उपज बोकेर लैजाने क्रममा पुलको अभावले ठूलो समस्या सिर्जना हुने गरेको गुनासो गरेका छन्।

“पुल भएको भए हामीलाई धेरै राहत हुने थियो,” एक स्थानीयले भने, “आज पनि खोला तरेर जान जोखिम मोल्नुपर्छ।”

स्थानीयले पटक–पटक सम्बन्धित निकायलाई पुल निर्माणका लागि माग गर्दै आएका छन्। तर अहिलेसम्म ठोस पहल नदेखिएको उनीहरूको गुनासो छ।

यस क्षेत्रका बासिन्दाले अब चाँडै सरकारले ध्यान दिएर पुल निर्माण गरिदिने अपेक्षा राखेका छन्।