नेपालगञ्ज - महेन्द्र बहुमुखी क्याम्पसका सक्रिय विद्यार्थी नेता निरज यादवले Free Student Union (FSU) मार्फत पछिल्ला महिनाहरूमा गरेको कामले क्याम्पसका विद्यार्थीहरूबीच सकारात्मक चर्चा कमाएको छ। विद्यार्थी हितका मुद्दालाई प्राथमिकता दिंदै उनले क्याम्पस भित्रका धेरै चुनौतीपूर्ण समस्याहरू समाधान गर्न पहल गरेका छन्।

क्याम्पसमा विद्यार्थीहरूलाई पर्ने दैनिक समस्या, भर्ना, सुशासन र पारदर्शितामा जोड दिँदै यादवले विभिन्न सुधारात्मक कदमहरू अगाडि सारेका छन्। विशेषगरी "IT Faculty" को प्रतिनिधित्व गर्दै आएका उनले आइटी अध्ययनरत विधार्थीहरूलाई दैनिक रूपमा पर्ने शैक्षिक तथा प्राविधिक समस्याहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्दै आएका छन्। कक्षा सम्बन्धी असुविधा, ल्याब व्यवस्थापन, इन्टरनेट पहुँच, तथा प्रोजेक्ट वर्कमा देखिने चुनौतीहरूबारे क्याम्पस प्रशासनसँग निरन्तर संवाद गर्दै उनले समाधानका प्रक्रिया सहज बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

यादवको नेतृत्व र स्ववियूको पहलमा क्याम्पसमा शैक्षिक वातावरण सुधार, सरसफाइ अभियान, कम्प्युटर ल्याब व्यवस्थापन, र पिउने पानी तथा शौचालय सुविधाको सुधार जस्ता कामहरू गरिएको विद्यार्थीहरूले बताउँछन्। साथै, उनले पहिलोपटक क्याम्पसमा विद्यार्थीका गुनासो टिपाउने ‘Student Complain’ साइट निर्माण गरेर समस्याहरू टिपी त्यसको समाधानलाई व्यवस्थित गर्न सजिलो बनाएका छन्।

विद्यार्थीहरूले यादवको सक्रियता र पारदर्शितालाई प्रशंसा गरेका छन्। “हामीले आफ्नो समस्याबारे सजिलै जानकारी दिन सक्ने वातावरण बनेको छ, उहाँले हामी सबैको आवाज क्याम्पस प्रशासनसम्म पुर्याइदिनुभएको छ”, एक विद्यार्थी प्रविन थारुले बताए।

अर्कोतर्फ, यादवले भने, “विद्यार्थीका अधिकार र क्याम्पस सुधारमै मेरो ध्यान केन्द्रित छ। विद्यार्थीमैत्री क्याम्पस बनाउनु नै मेरो प्राथमिकता हो।”

स्वतन्त्र विद्यार्थी संघ मार्फत निरन्तर सक्रिय रहँदै आएका उनले आगामी दिनमा अझ थप विकास, व्यवस्थापन र विद्यार्थी हितका कार्यक्रमलाई अघि ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।