अदीस अबाबा - उत्तरपूर्वी इथियोपियामा लगभग १२ हजार वर्षपछि पहिलोपटक ज्वालामुखी विस्फोट गरेको छ। समुद्री सतहबाट करिब ५०० मिटर उचाइमा रहेको यो ज्वालामुखीबाट निस्केको बाक्लो धुवाँ र खरानी ३,८०० किलोमिटर टाढा भारतसम्म पुगेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

अफार क्षेत्रमा, इरिट्रिया सीमासँगै रहेको यो ज्वालामुखी आदिस अबाबाबाट करिब ५०० माइल उत्तर–पश्चिममा पर्छ । आइतबार घण्टौँसम्म लगातार खरानी र ग्यास निस्कँदै गर्दा धुवाँको मुस्लो १४ किलोमिटर उचाइसम्म पुगेको र त्यसपछि लाल समुद्र पार गर्दै यमन–ओमान दिशातिर सरेको समाचार संस्था एपीले जनाएको छ । 

स्थानीय क्षेत्रमा मानवीय क्षति नदेखिए पनि विस्फोटले त्यहाँका पादरी समुदायको आर्थिक गतिविधिमा असर पर्ने अनुमान गरिएको समाचारमा उल्लेख छ । 

दिल्लीबाट झण्डै ४,५०० किलोमिटर टाढा भएको घटनाले भारतीय उत्तर–पश्चिम क्षेत्रका बासिन्दालाई समेत प्रभाव पारेको छ। इन्डियामेटस्काई वेदरका अनुसार, नोभेम्बर २४, सोमबार राति ज्वालामुखीबाट उडेको धुवाँ गुजरात हुँदै भारतमा प्रवेश गरेको थियो। त्यसपछि तीव्र हावाको कारण राजस्थान, दिल्ली, हरियाणा, पञ्जाब र उत्तर–पश्चिम महाराष्ट्रसम्म फैलिएको उल्लेख छ। खरानीको यो बादल १००–१२० किलोमिटर प्रतिघण्टा गतिमा सर्दै हिमालयन क्षेत्रसम्म पनि पुगेको छ।

दिल्ली, जयपुरलगायतका विमानस्थलमा उडान सुरक्षा निगरानी कडा बनाइएको छ। कोच्चि विमानस्थलबाट उड्नुपर्ने दुई अन्तर्राष्ट्रिय उडान ज्वालामुखीको प्रभावका कारण रद्द गरिएको भारतीय अधिकारीहरूले जनाएका छन्।

ज्वालामुखीबाट निस्केको बादलमा सल्फर डाइअक्साइड, ज्वालामुखीय खरानी, गिलास–चट्टानका सूक्ष्म कण समावेश हुने भएकाले यसले वायुमण्डलीय दृश्यता र स्वास्थ्य दुवैमा असर पार्ने विशेषज्ञहरूको भनाइ छ।