गाउँका खेतबारीमा हरियो बालीको सट्टा अहिले बाँदरको झुण्ड दौडिरहेको छ। बिहानबिहान आँगनमा केटाकेटीको खेल्ने र चिच्याउने आवाज सुन्ने दिन गए, अब त्यही ठाउँमा बाँदरको कराह र धपाउने होहल्ला सुनिन्छ।
कहिलेकाहीँ लाग्छ गाउँ अब बाँदरकै स्वामित्वमा पुगेको छ, गाउँलेहरू त केवल बाँदरले कहिलेसम्म गाउँमा बस्न दिने हो भनेर दिन गन्दै बसेका छन्।
पहिले बारीमा मकै हुर्कँदा किसानको अनुहारमा मुस्कान हुन्थ्यो, अहिले गाउँ सुन्निनु रित्तिँदै गएको छ। बाँदर जङ्गलबाट गाउँतिर झर्दै छन् र गाउँका मान्छे बाँदरकै सतावटका कारण सहरतिर धकेलिँदै छन्।
यो कुनै कथा होइन, पहाडी ग्रामीण बस्तीको दैनिकी हो। सहरका अग्ला घरमा बस्नेले यो पीडा महसुस गर्न सक्दैनन्। तर बिहान घामसँगै बारीमा पसिना बगाउनेहरूका लागि बाँदरको त्रास अब बस्नै नसक्ने स्तरमा पुगेको छ।
एक दिन गाउँको छेउमा भेटिएका दाइलाई देख्दा अझै सम्झना आउँछ — पसिनाले निथ्रुक्क भिजेको शरीर, भात खाँदै गरेको हात, तर अर्काे हातमा गुलेली र लौरो। भन्नुभयो —
‘महिनाभर बाँदर कुर्दै बसेँ, एकछिन खाना खान भित्र पसेँ, फर्केर हेर्दा सारा मकै सकियो। अब त यो गाउँमा बाँदरले बस्नै नदिने भयो।’
त्यो स्वरमा केवल थकान मात्र थिएन, हारको अनुभूति पनि थियो। जस्तो, बाँदरसँगको लडाइँमा उहाँले श्रम, आत्मसम्मान र साहस तीनै गुमाइसक्नुभएको होस्।
बाँदरको डर यस्तो छ कि मानिस खेती गर्न डराउन थालेका छन्। रोपेको मकै, गहुँ, तरकारी — केही बाँकी रहँदैन। बिउ रोप्नु नै अब जुवा खेल्नु जस्तो भएको छ। बिहान खेततिर हिँड्दा गाउँलेको हातमा नाम्लो र हँसिया नभई गुलेली र ढुङ्गा हुन्छ।
एउटी आमाले भनिन् — ‘अब खेती गर्नु भनेको युद्ध गर्नु हो। के लगायो, बाँदरले सबै खान्छ।’
पसल बजार पनि बाँदरको नजरमा छन्। गाउँकै कृष्ण दाइले रिसले भन्नुभयो — ‘पसलमा राखेको केरा हातैबाट लुछेर लग्यो। पसल थाप्नु नै मुश्किल भयो, व्यापार संकटमा छ।’
यो केवल जनावरको उपद्रो मात्र होइन, गाउँको सामाजिक जीवनमाथिको ठुलो आक्रमण हो। अब त विवाहको कुरा गर्दा पनि बाँदर आतंकको चर्चा हुन्छ — ‘त्यो गाउँमा त बाँदरको समस्या धेरै छ, छोरीलाई दुःख नहोस्।’
गुनासो पालिका, वडा, जनप्रतिनिधिसम्म पुगेको छ। बाँदर धपाउने टोली बनाउनेदेखि बजेट छुट्याउनेसम्म भयो। केही दिन समस्या घटे जस्तो लाग्यो, फेरि बाँदर फर्किए।
सरकारको जवाफ — ‘बाँदर संरक्षणमा छन्, मार्न पाइँदैन।’
तर किसानको प्रश्न — ‘हाम्रो बालीको संरक्षण कसले गर्छ?’
यो समस्या केवल स्थानीय तहको मात्र होइन। पुराना रुख काटिँदै गए, नयाँ बिरुवा रोपिएनन्, बाँदरको वासस्थान हरायो। जब मानिसले बाँदरको आहार लुट्यो, बाँदरले मानिसको बारीतिर आँखा लगायो।
मानिस–बाँदर द्वन्द्व नियन्त्रणभन्दा बाहिर जाँदै छ। कानुन बाँदरको पक्षमा छ, तर बाँदरले भान्साको ढोका खोलेर महिनौँको आम्दानी बिगार्दा किसानलाई यो कानुन सजाय जस्तो लाग्छ।
पहिले सहर जाने कारण शिक्षा र रोजगारी थिए, अब बाँदरको सतावट पनि थपिएको छ। खेतमा केही हुन्न, बरु सहर गएर मजदुरी गर्दा शान्ति मिल्छ भन्ने सोचमा गाउँ खाली हुँदै छ।
राज्यले खेतबारी बाँझो नराख्नू भन्ने नीति बनाएको छ, कृषिमा लगानी बढाउने घोषणा गरेको छ। तर किसानले बाली लगाउनै डराउने अवस्था भए त्यो नीति किताबमै सीमित हुन्छ।
आज धेरै गाउँमा बाँदरका कारण मानिसले खेती छाडेका छन्। उब्जनीको आश भन्दा क्षतिको डर बढेको छ। यस्तो अवस्थामा खेत बाझिनु किसानको इच्छा नभई बाध्यता हो।
यो समस्या कृषिजन्य मात्र होइन, गम्भीर पर्यावरणीय असन्तुलन र सामाजिक संकटको संकेत हो। अब सरकारको जिम्मेवारी — दीर्घकालीन योजना ल्याएर बाँदर समस्या समाधान गर्ने र मानव बस्तीको जीवन सुरक्षित गर्ने हो।
यत्रो बाँदर भए बाँदर महोत्सव गर्नुपर्छ जस्तो छ 🤣